काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सम्पत्तिमा भएको अतिक्रमण अन्त्य गर्न संयुक्त रूपमा कडा कदम चालेका छन् ।
दुवै निकायले अतिक्रमित जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना सात दिनभित्र स्वयं हटाउन निर्देशन दिएका हुन् ।
महानगरका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थान, बाटो, चौर र खोलानालासहित सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका अतिक्रमित क्षेत्रहरूलाई तत्काल खाली गर्न भनिएको हो ।
सो अवधिभित्र अतिक्रमण नहटाए कानुनी प्रक्रिया पूरा गरी बल प्रयोग गरेर पनि संरचना हटाइने चेतावनी महानगरले दिएको छ ।