काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आधार संवाद, सहमति र समावेशितामा रहेको बताएका छन् । उनले लोकतन्त्र द्वन्द्व वा प्रतिस्पर्धामा होइन, आपसी संवाद र समझदारीमा अझ सबल र दिगो बन्ने बताएका हुन् ।
शीतल निवासमा शुक्रबार ९कात्तिक २१० प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, साथै प्रदेश सभामुख र उपसभामुखसँगको भेटमा राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र संस्कारलाई जीवनपद्धतिको रूपमा अंगिकार गर्न सबैलाई आह्वान गरे ।
राष्ट्रपति पौडेलले जनताको आवाज र अपेक्षा सुनेर मात्रै लोकतान्त्रिक आचरण सुदृढ हुने उल्लेख गर्दै भने, 'यदि हामीले लोकतन्त्रलाई व्यवहार र जीवनशैलीमा रूपान्तरण गर्न सक्यौं भने, हाम्रो संसदीय प्रणाली अझ मजबुत र जनमुखी बन्न सक्छ।'
उनले युवापुस्ताको सुशासन र विकासप्रतिको आकांक्षा लोकतन्त्रको प्रमुख प्रेरणाशक्ति भएको उल्लेख गर्दै संविधानको मर्मअनुसार देशलाई अघि बढाउन सबै राजनीतिक पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
'संविधान केवल कानुनी दस्ताबेज होइन, यो हाम्रो सहयात्रा, सहमति र सामूहिक संकल्पको मार्गचित्र हो,'राष्ट्रपति पौडेलले भने, 'यसको संरक्षण र कार्यान्वयनमा सबैको समान प्रतिबद्धता हुनुपर्छ।'
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई उनले राष्ट्रिय हित र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा व्याख्या गर्दै भने, 'यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु कुनै एक दल वा नेतृत्वको मात्रै जिम्मेवारी होइन, सम्पूर्ण राष्ट्रको साझा दायित्व हो।'
राष्ट्रपति पौडेलले असन्तुष्ट आवाजहरूलाई बेवास्ता नगरी सुनेर समाधान खोज्ने संस्कृति नै लोकतन्त्रको शक्ति भएको भन्दै संवाद र सहकार्यको बाटोबाट मात्रै स्थायी समाधान सम्भव हुने स्पष्ट पारे।