Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्यका कर्मचारीहरुमा मन्त्री शर्माको आतंक, प्रदेशमा समायोजन भएका रामआधारलाई संघमै प्रमुख बनाइँदै

स्वास्थ्यका कर्मचारीहरुमा मन्त्री शर्माको आतंक, प्रदेशमा समायोजन भएका रामआधारलाई संघमै प्रमुख बनाइँदै

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पदमा बहाल भएपछि कर्मचारीहरुमा आतंक सृजना गरेकी छन् ।

महाशाखा, शाखा परिवर्तनदेखि लिएर स्वास्थ्य सेवा विभाग मातहतका निकायमा कर्मचारी सरुवातिरमात्रै ध्यान केन्द्रित गरेकी छन् ।

तीन दशकसम्म स्वास्थ्य सेवाकै कर्मचारी हुँदै सचिवसम्म पुगेकी उनले मन्त्री पदलाई इगो र प्रतिशोध साँध्ने अस्त्र बनाएकी छन् । पछिल्लो समय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बराकोटीले उनको हैकमवाद र अतिचार सहन नसकेर पदबाटै राजीनामा दिएर सेवाबाट बाहिरिएका छन् ।

उनी जागिर अवधि साढे २ बर्ष बाँकी हुँदै मन्त्री शर्माको ज्यादतिले सीमा नाघेपछि सेवाबाटै राजीनामा बाध्य भएका छन् । यसअघि महानिर्देशक रहेका डा. विकास देवकोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बढुवा भएपछि डा. बराकोटीलाई बरिष्ठताका आधारमा उक्त जिम्मेवारी दिइएको थियो ।

डा. सुधा शर्माले मन्त्री हुनासाथ महानिर्देशक बराकाटीलाई अनावश्यक दबाब र टर्चर दिएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेको स्रोत बताउँछ । मन्त्रालयमा अहिले सुधाका विगतका बिचौलियाहरु नै हावी हुन पुगेको आरोप छ ।

स्रोतका अनुसार कोही जेनजीका नाममा र कोही बिचौलियाकै रुपमा सुधाको भित्रिया बन्दा मन्त्रालयभित्रका कर्मचारीहरु समेत आतंकित हुन पुगेका छन् । मूल कार्यदिशा छाडेर सरुवा र नियुक्तिमै रमाएकी मन्त्री सुधा आफू नेपाली कांग्रेसनिकट भए पनि पछिल्ला दिनमा जेनजीका रुपमा प्रस्तुत हुने गरेकी छन् ।

उनले आयुर्वेद विभागको महानिर्देशक रहेका डा. श्यामबाबु यादवको संरक्षण गर्न दिलोज्यान दिएर लागेकी छन् । दसौं तहका यादव आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत हुन् ।

उनी कांग्रेसनिकट भएकै कारण यसअघिका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आयुर्वेद विभागको महानिर्देशक बनाएका थिए । ११ औं तहको दरबन्दी रहेको ठाउँमा १० औं तहका यादव महानिर्देशक भएपछि स्टोर, प्रशासन र लेखासँग मिलेर हरेक खरिदमा कमिसनको धन्दा चलाउँदैआएका छन् ।

घरायसी सामानदेखि लिएर तौलियासमेत विभागकै प्रयोग गर्नसमेत लज्जा नमान्ने यादव अहिले डा. सुधाको भित्रीया बनेको आरोप छ ।

उनी डा. रामआधार यादवलाई पुरानै आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र बिकास समितिमा फर्काउन सुधालाई उकासिरहेका छन् ।

आफैंले बनाएको जेनजीको एक समूहलाई प्रयोग गरी डा. रामआधारलाई समितिको कार्यकारी निर्देशकमा फर्काउन उनी तल्लीन भएर लागेका छन् । डा. रामआधार केही महिनाअघि मात्र समितिबाट मन्त्रालयमा सरुवा भएका थिए ।

६ बर्ष समितिको नेतृत्वमा रहेका रामआधार फर्किएको ४ महिनामै पुनः त्यहीँ जान साम, दाम प्रयोग गरेर लागेका छन् । डा. श्यामबाबु दशौं तहको भएको हुँदा ११ तहका रामआधार आउनसक्ने भएकाले उनलाई समितिमा ब्यवस्थापन गरी आफू महानिर्देशकमा सुरक्षित हुन खोजिरहेका छन् ।

समितिको कार्यकारी निर्देशक पटक–पटक भएर करारमा कर्मचारी भर्ति गर्दासमेत आर्थिक लेनदेन गरेको आरोप लागेका उनै रामआधार फेरि फर्किएमा आश्चर्य नहुने भएको छ ।

११ औं तहको दरबन्दी रहेको आयुर्वेद विभागको महानिर्देशकमा दशौं तहका श्यामबाबुलाई कायम राखेर ११ औं तहका डा. बासुदेव उपाध्याय र डा. प्रदीप केसीलाई अन्यत्रै राख्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । डा. रामआधारको दरबन्दी लुम्बिनी आयुर्वेद अस्पताल दाङ बिजौरीमा छ ।

प्रदेश मातहत रहेको उक्त अस्पतालमा उनी पदस्थापन भएका मितिदेखि हालसम्म हाजिर हुन गएका छैनन् । प्रदेशमा समायोजन भएका कर्मचारीलाई बिगतको दलको सरकारले कानुन बिपरीत बर्षौंदेखि संघीय सरकार मातहतको आकर्षक बिकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

जेनजी आन्दोलनपछिको सरकारले सुशासन कायम गर्ने भने पनि प्रदेशमा समायोजन भएका कर्मचारीलाई पुनः संघीय त्यो पनि आकर्षक कार्यालयमै जिम्मेवारी फर्काउने तयारीले सुशासनको धज्जी उडाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077