Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् पुनःस्थापनाको विपक्षमा गगन थापा, भने - अब निर्वाचनबाटै नयाँ संसद आउनेछ

संसद् पुनःस्थापनाको विपक्षमा गगन थापा, भने - अब निर्वाचनबाटै नयाँ संसद आउनेछ

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसद् पुनःस्थापनाको विपक्षमा उभिँदै आगामी फागुन २१ गते हुने निर्वाचनबाटै नयाँ संसद् आउने अडान लिएका छन् ।

नेकपा एमाले र कांग्रेस ससद् पुनःस्थापनाका लागि जुटेका बेला कांग्रेसकै महामन्त्री थापाको उक्त धारणा आएको हो । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले गत बिहीबारबाटै ससद् पुनःस्थापनाका लागि भन्दै हस्ताक्षर अभियान थालेको छ भने कांग्रेसले पनि औपचारिक रूपमा हस्ताक्षर संकलन थालेको छ ।

तर सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले निर्वाचनमार्फतै संविधानलाई सही मार्गमा ल्याउन सकिने बताउँदै यसबारे कुनै अलमल नराख्न सबैलाई आग्रह गरे ।

थापाले सोमबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।'

उनका अनुसार, यही निर्णय नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ । 'यो विषयमा हाम्रो पार्टीको धारणा स्पष्ट छ — निर्वाचन नै समाधान हो,' उनले भनेका छन् ।

थापाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसमेत यही रहेको उल्लेख गर्दै अहिले पार्टीभित्र देखिएको अलमल फागुन २१ को निर्वाचनसम्बन्धी नभई अधिवेशनको समयका कारण भएको बताए ।

उनले भने, 'निर्वाचनअघि अधिवेशन हुनुपर्छ भन्ने विषयमा मात्र छलफल चलिरहेको हो, निर्वाचनमा भाग लिने वा नलिने प्रश्नमा हामी एकमत छौं।'

महामन्त्री थापाले आगामी निर्वाचनलाई सफल बनाउने दृढ प्रतिबद्धता जनाउँदै भनेका छन्, 'नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077