काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज औपचारिक एकता घोषणा हुँदैछ । पार्टी एकता घोषणा कार्यक्रम दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको हो ।
एकता घोषणासँगै पूर्व उपप्रधानमन्त्री र वरिष्ठ वाम नेता भीम रावल औपचारिक रूपमा नयाँ संरचनाको छैटौँ वरीयतामा रहने सहमति भएको छ । पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता रावललाई दिने टुंगो लागेको बताइएको छ ।
रावलसँगै पूर्व सांसद प्रकाशबहादुर शाह पनि आजको कार्यक्रममा सहभागी हुँदै औपचारिक रूपमा नेकपामा प्रवेश गर्ने भएका छन् ।
यसअघि, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० वटा वाम घटकबीच कात्तिक १९ गते एकता भई नयाँ “नेपाली कम्युनिस्ट पार्टी” गठन भएको थियो । उक्त एकतापछि बनेको पहिलो संरचनामा संयोजकका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दोस्रो वरीयतामा माधवकुमार नेपाल रहेका छन् ।
त्यसैगरी, तेस्रो वरीयतामा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, पाँचौँमा नारायणकाजी श्रेष्ठ र छैटौँमा भीम रावल रहने सहमति भएको बताइएको छ ।