एजेन्सी । भारतको जम्मू–कश्मीरको दक्षिण श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति भएको भीषण विस्फोटमा ७ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राति करिब ११ः२२ बजे विस्फोट भएको थियो । घटनास्थलको करिब ३०० फिट टाढासम्म मानव शरीरका टुक्रा फेला परेको बताइएको छ ।
सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयानअनुसार एकैचोटि ठूलो धुवाँ र आगो आकाशतिर उडेको दृश्य देखिन्थ्यो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।
निरन्तर साना–ठूला विस्फोट भइरहेकाले उद्धार टोली करिब एक घण्टासम्म घटनास्थलमा प्रवेश गर्न नसकेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी र अनुसन्धान एजेन्सीहरू घटनालाई दुई प्रमुख कोणबाट हेरेर अनुसन्धान गरिरहेका छन्। पहिलो, प्रहरी चौकीभित्रै मगजिस्टे्रटको उपस्थितिमा सिल गर्न राखिएको करिब ३६० किलोग्राम अमोनियम नाइट्रेट विस्फोट हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान छ।
दोस्रो, यो घटनामा आतंकवादी समूहको संलग्नता हुनसक्ने आशंका पनि उतिकै बलियो मानिएको छ। यो घटना केहीै दिनअघि दिल्लीको लालकिल्ला नजिक भएको कार बम विस्फोटपछि भएको हो, जसमा १३ जनाको मृत्यु भएको थियो।
त्यसपछि नै देशभर सुरक्षा सतर्कता बढाइएकामा नौगाम विस्फोटले सुरक्षा निकायलाई थप सचेत बनाइदिएको छ ।