सुर्खेत । नेकपा एमालेले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन ‘नहुने सम्भावना’ बढ्दै गएको दाबी गर्दै नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।
शनिबारसुर्खेतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले चुनावको अनिश्चिततालाई पार्टीले राजनीतिक रणनीतिका रूपमा अघि बढाएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार, निर्वाचनका लागि देखिएको बाह्य सहजताभन्दा भित्री तयारी निकै जटिल छ । पोखरेलले देशमा नयाँ शक्ति परिचालन र राजनीतिक षड्यन्त्र सक्रिय रहेको आरोप लगाए।
उनले वर्तमान राजनीतिक अस्थिरता, संविधानविपरीतका गतिविधि र सरकारका निर्णयहरूले निर्धारित मितिमा चुनाव सम्पन्न हुने आशंका थपिएको बताए।
'देशलाई चुनावको नाममा थप संकटतिर धकेल्ने प्रयास भइरहेको छ,' उनले भने, 'एमाले असम्भव चुनावको पछाडि लाग्दैन।'
महासचिव पोखरेलले अन्तरिम सरकार गठनदेखि प्रतिनिधिसभा विघटनसम्मका विषयमा एमालेले निरन्तर प्रश्न उठाइरहेको स्मरण गराए। वर्तमान परिस्थितिमा विघटित प्रतिनिधिसभालाई पुनः सक्रिय बनाएर साझा सहमति निर्माण गर्नुपर्ने उनले तर्क दिए।