काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसपटक पार्टीले सही निर्णय गरेर अघि बढ्ने दाबी गरेका छन् ।
मंगलबार एक भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका थापाले लामो समयदेखि पार्टी बैठक बसिरहे पनि निर्णय आउन नसकेको कुरामा थुप्रै प्रश्नहरु जन्मिएको र आफूहरु त्यसका लागि छलफल गरिरहेको बताएका हुन् ।
महामन्त्री थापाले भने- 'हामी इलेक्सनमै जाने हो त्यो भन्दा अर्को विकल्प छैन । हामीमा अहिले संवाद भइरहेको छैन, हामीले पार्टीभित्र मात्र होइन बाहिर पनि संवाद बढाउनुपर्नेछ । हाम्रो क्यारेक्टर भनेको समाजमा सद्भाव कायम गर्ने हो, उत्तेजना फैलाउने हाम्रो काम होइन । यसका लागि तपाईँहरुले पार्टी बाहिरका साथीहरुसँग पनि कुरा गर्नुहोस्, नयाँ साथीहरु, नौजवानहरुसँग कुराकानी गर्नुहोस् । उनीहरुको कुरा सुन्नुहोस् यसले हामीलाई मद्दत नै पुर्याउँछ । तपाईँहरुले यत्रो समय आड भरोसा दिनुभएको छ, केही समय लाग्ला, निर्णय थोरै ढिलो होला, निर्णय गलत हुन दिन्नौँ, गलत हुने छुट पनि कसैलाई छैन । यो पटक हामीले न झुक्छौँ, न झुकिन्छौँ ।'
उनले यसपटक नेतृत्व फेरेर मात्रै आफूहरु निर्वाचन जाने, कसैले आफूहरुलाई झुक्याउन नसक्ने र आफूहरु नझुक्किने समेत बताए ।
साथै पुरानै नेतृत्व लिएर निर्वाचनमा गएमा आफूहरुमाथि रहेका प्रश्नका कारण नागरिकहरुले मत नहाल्ने समेत जिकिर गरे ।