विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतले आफूमाथि भएको आक्रमण प्रयासलाई गम्भीर र निन्दनीय भन्दै आक्रोश पोखेका छन् ।
इटहरीमा आयोजना भएको एमाले कार्यक्रमका लागि कोशी आएका बस्नेत सवार गाडीमा रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको थियो । उक्त घटनापछि बस्नेतले त्यसको विरोध गरेका हुन् ।
आज विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ छ्यापेका थिए ।
त्यस क्रममा नाराबाजीसमेत भएको थियो । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आक्रमण प्रयासलाई गम्भीर र निन्दनीय भनेका छन्। उनले लोकतन्त्रमा विरोधको सिमाना हुने बताउँदै शान्तिपूर्ण अभिव्यक्ति वैध भए पनि हिंसात्मक हर्कत स्वीकार्य नहुने बताए ।
उनले आफूमाथि आक्रमण हुँदा तत्कालै प्रहरीले देखाएको तत्परताप्रति धन्यवाद दिएका छन्।
बस्नेतले बाधा र अवरोधबीच पनि युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा विराटनगरमा सुरु भएको बताएका छन् । उनले सकारात्मक ऊर्जा र उच्च सहभागितासहितको यो अभियानले देशभर नयाँ सन्देश प्रवाह गर्ने बताएका छन् ।
एमालेका नेतामाथि पछिल्ला दिनमा विभिन्न स्थानमा जेन–जी समूहको नाममा आक्रमण प्रयास भइरहेको छ । इटहरी, सिमरा र मधेसका विभिन्न ठाउँमा उनीविरुद्ध उग्र विरोध देखिएको छ। सिमरामै तीन दिनसम्म तनाव चर्किएको थियो । सिमरामा दुई दिनसम्म कर्फ्यु नै लगाउनु परेको थियो ।
बस्नेतले फेसबुकमा लेखेका छन्–विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतम बाट गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।
प्रहरीको तत्परताप्रति धन्यवाद।
हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ।
अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।
बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।'