काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू अनलाइन बेटिङ साइटमार्फत खेलको हार–जितमा रकम लगानी गर्दै अवैध सट्टेबाजीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लाका ३१ वर्षका राजा यदुला, ३५ वर्षका महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० वर्षका सेख सोयब, ३० वर्षका नभिन मड्डेला, ३२ वर्षका महमद रफी सेख, १९ वर्षका साई कुमार तम्मिसेट्टी, र २८ वर्षका सेख चन्द बसल रहेका छन्।
उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोबाइलबाट थप प्रविधियुक्त अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफmा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवं काकरबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।