Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जना पक्राउ

अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जना पक्राउ

आइतवार , चैत्र २९, २०८२

रुपन्देही । प्रहरीले रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका दुई स्थानबाट उनीहरुलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीलले जनाएको छ । 

प्रहरीका अनुसार चैत १९ गते तिलोत्तमा नगरपालिका–७ बाट ९ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको छ ।

त्यसैगरी चैत २७ गते तिलोत्तमा नगरपालिका–१५, कोटिहवाबाट थप ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारतका विभिन्न स्थानका नागरिकसहित रुपन्देहीका एक पुरुष, एक महिला तथा सुर्खेत घर भई हाल रुपन्देही बस्दै आएकी एक महिलासमेत रहेका छन् । 

प्रहरीले उनीहरुको साथबाट २३ बन्डल भारतीय बैंकका चेकबुक, २५ थान एटीएम कार्ड, ९१ हजार ७२५ रुपैयाँ नगद, १ थान भारतीय पासपोर्ट, ३० थान आधार कार्ड, ६ थान ल्यापटप, २१ थान मोबाइल, ३ थान पेन ड्राइभ, ३ थान स्ट्याम्प छाप र १ थान राउटर बरामद गरेको जनाएको छ ।

चैत १९ गते तिलोत्तमा–७ बाट पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश बलियाका प्रदिप गुप्ता, पवन कुमार, सतिश कुमार, बिहार सिवानका मनु कुमार सोनी र अमर कुमार, उत्तर प्रदेश गोण्डाका नर सिंह र राम असिस सिंह, पश्चिम बंगाल नदियाका सुदिप तो माझी तथा उत्तर प्रदेश बलियाका अबिशेष ठाकुर रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै तिलोत्तमा–१५, कोटिहवाबाट पक्राउ पर्नेहरुमा भारतका संदिप कुमार, एमडी हाकिम, सतेन्द्र सिंह, श्याम सुन्दर, दिपक पाण्डे, रियाज अहमद, प्रदिप कुमार, तन्नु कुमारी र राखी झा रहेका छन् । साथै रुपन्देही ओमसतिया गाउँपालिका–१ का अक्लेश कुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमा–१५ बस्दै आएकी सिमा राना समेत पक्राउ परेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077