बारा । बाराको पचरौत नगरपालिका–चिकनी गाउँ, आइतबार राति भारतबाट भन्सार छलीका सामान ट्र्याक्टरमा लोड गरी नेपाल भित्र्याउने प्रयास रोक्न गएका नेपाल प्रहरीमाथि तस्कर समूहले गोली प्रहार गरेको छ ।
सीमावर्ती क्षेत्र चिकनीमा भएको घटनामा प्रहरीले जवाफी फायर गरेको भए पनि तस्करहरू राति नै भारततर्फ भाग्न सफल भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार भारततर्फबाट लोड गरिएको ट्र्याक्टर नेपाली भूमिमा प्रवेश गरेको सूचनामा टोली खटिइएको थियो ।
सामानसहितको ट्र्याक्टर नियन्त्रणमा लिएर जिल्ला सदरमुकामतर्फ ल्याउने क्रममा तस्कर समूहले अकस्मात गोली चलाएको बताए ।
प्रवक्ता पण्डितका अनुसार तस्कर समूहले प्रहरीलाई लक्षित गरी २ राउन्ड गोली चलाएपछि आत्मरक्षाको लागि प्रहरीले ६ राउन्ड फायर गर्नु परेको थियो ।
जवाफी फायर बीचै तस्करहरूले ट्र्याक्टरसहित भन्सार छलीका सामग्री पुनः खोस्दै भारतको बिन्धवासिनी गाउँतर्फ लगेका छन् ।
घटनास्थलमा प्रहरीले भारतीय नम्बर प्लेट भएका ४ वटा मोटरसाइकल, २ वटा मोबाइल फोन, भारतीय आधार कार्ड बरामद गरेको छ।
प्रहरीका अनुसार तस्करहरूको वास्तविक पहिचान पुष्टि हुन बाँकी छ। यस घटनासँगै भन्सार चुहावट रोक्न सीमामा तैनाथ सशस्त्र प्रहरीको भूमिकामाथि फेरि एकपटक गम्भीर प्रश्न उठेको छ।