एजेन्सी । तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
तीमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए ।
ती बसहरु यति तीव्र गतिमा थिए कि अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए ।
स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो ।