काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पछिल्ला दिनमा चर्चामा आएको ‘जेनजी आन्दोलन’लाई नयाँ राजनीतिक परिघटना भनेर मात्र बुझ्न नहुने टिप्पणी गरेका छन् ।
उनका अनुसार नेपालको इतिहासमा भएका हरेक ठूलो राजनीतिक परिवर्तनको मूल नेतृत्व सदैव युवा पुस्ताकै हातमा रहँदै आएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका बास्कोटाले योगमायाको विद्रोहदेखि सहिद गंगालाल, २००७ सालको क्रान्ति हुँदै २०६२/६३ को जनआन्दोलनसम्मका हरेक अध्यायमा युवाहरू अग्रपंक्तिमा रहेको स्मरण गराए ।
उनले भने, 'योगमायादेखि गंगालाल, सात, सत्र, सत्ताइस, सैँतीस, सतचालीस, बैसट्ठी र बयासी सबै सालका आन्दोलनमा युवा नेतृत्व छ। हरेक युगको नेतृत्व त्यही पुस्ताले गर्छ।'
बास्कोटाले अहिले सामाजिक सञ्जाल र सडकमा देखिएको युवा ऊर्जा तथा आक्रोशलाई ‘जेनजी आन्दोलन’ भनेर चिनाउने प्रवृत्ति बढेको स्वीकार गर्दै, यसलाई नौलो विस्फोट होइन, इतिहासको प्राकृतिक निरन्तरता भनेर व्याख्या गरे। उनका अनुसार युवाको भूमिकाबिना कुनै पनि राजनीतिक संरचना वा व्यवस्था रूपान्तरित हुँदैन।
नेता बास्कोटाले अहिलेका विरोध, असन्तोष वा आन्दोलनको सतही व्याख्या गर्दा पूर्ण तस्वीर नदेखिने चेतावनी दिए। उनले भने, 'घटनाको व्याख्या मूल कुरा होइन, कारण, उद्देश्य, परिणाम, प्रवृत्ति, दिशा र शिक्षा के हुन्, त्यसको टुङ्गो लगाउनुपर्छ।'