काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको दाबी गरेका छन् ।
भक्तपुरमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्ला घटनाक्रमपछि एमाले कमजोर नभई अझ मजबुत भएर अगाडि बढिरहेको स्पष्ट पारेका हुन् ।
उनले गत भदौ २३ र २४ गतेका घटनापछि नेकपा एमाले र यसको नेतृत्वविरुद्ध संगठित तथा सुनियोजित रूपमा आक्रमण भइरहेको आरोप लगाए ।
उनले भने- 'हामीले सरकारबाट बाहिरिँदा नै भनेका थियौँ सरकारबाट मात्रै बाहिरिएका हौँ, जनताको हृदयबाट होइनौँ । खरानीको खोक्रोबाट फेरि उठ्नेछौँ भन्ने हाम्रो संकल्प आजको ऐतिहासिक जनसभाले पुष्टि गरेको छ । नेकपा एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ ।'
महासचिव पोखरेलले एमाले सरकारबाट मात्रै बाहिरिएको भए पनि नेपाली जनताको हृदयमा गहिरो गरी बसेको पार्टी भएको उल्लेख गरे । भदौ २३ र २४ पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमण भइरहेको भन्दै ती घटनालाई नवयुवाहरूको भावनामाथि खेल्ने देशविरोधी तत्त्वहरूको कामको संज्ञा दिए ।
उनले नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला र निर्णायक आन्दोलनको नेतृत्व एमालेले नै गरेको दाबी गर्दै पार्टीलाई समाप्त भयो भन्ने विश्लेषण गलत सावित भएको बताए ।