काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीहरूको कपाल जथाभावी नकाट्न महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सर्कुलर जारी गरेको छ ।
महानगरले बुधबार जारी गरेको सर्कुलरमा केही विद्यालयले छात्रको कपाल लामो भएको भन्दै जबर्जस्ती मुन्डन गरिदिने गरेको घटनाबारे जनगुनासो आएको उल्लेख गरेको छ । यस्ता कार्यले विद्यार्थीमा नकारात्मक मनोवैज्ञानिक असर परेको भन्दै महानगरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसै सन्दर्भमा महानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गराउन अनुरोध गरेको छ।
शिक्षा नियमावली, २०५९ अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी लागू गर्न सक्ने भए पनि त्यसको कार्यान्वयन गर्दा विद्यार्थीको गरिमा र अधिकारको सम्मान गर्नुपर्ने महानगरको भनाइ छ।
महानगरले सर्कुलरमा शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) र नियम १३३ (१) (ट) लाई उद्धृत गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।