काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले वर्तमान सरकारले समयमै निर्वाचन गराउनेमा आशंका रहेको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा बस्नेतले फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुनःस्थापना हुन्छ ? भन्दै प्रश्न समेत गरे ।
अहिले पनि शान्ति सुरक्षाको वातावरण नरहेको बताउँदै उनले दलका नेतामाथि स्थानहद लगाएको अवस्थामा सरकारलले भयरहित निर्वाचन गराउनुपर्नेमा जोड दिए ।
निर्वाचनको वातावरण बनाउनमा राजनीतिक दलहरूले अवरोध गरिरहेको भन्ने देखाउन लागिएको हो ? भनेर प्रश्न गर्दै उनले भने–‘संसद् पुनःस्थापनाको मागसहित यो सरकार असंवैधनिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ को निर्वाचन हुन सक्दैन ।’
भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका उनले आफू पनि जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिबाट पीडित भएको बताए ।
उनले भने–‘मेरो घर आगजनी भएर म अहिले भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरो घर जलेको छ । मेरो जलेको घर हेर्दै मैले घरदैलोमा जाने हो ? सरकारले जवाफ देओस् ।’
प्रधानमन्त्री कार्यालयमा छलफल भइरहँदा जेनजीका केही समूह प्रदर्शनमा रहेको बताउँदै बस्नेतले जेनजी प्रदर्शनका क्रममा लुटेका हतियार कति छन् र जेलबाट भागेका कैदी के गर्दैछन् ? कता छन् ? भन्ने प्रश्न राखेका थिए ।
सरकारले जेनजीका केही समूहसँग संविधान संशोधन लगायतका कुरामा सम्झौता गरेकोमा आपत्ति रहेको पनि बस्नेतले बताए ।