काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन चार बुँदे निर्देशन जारी गरेका छन् ।
मंगलबार सबै जिल्ला कार्यसमितिका सभापतिलाई पठाइएको परिपत्रमार्फत थापाले मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गर्न निर्देशन दिएका हुन् ।
निर्देशनमा १५औँ महाधिवेशनको कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्नुपर्ने उल्लेख गर्दै पार्टी विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
परिपत्रमा भनिएको छ,‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गराउनु गराउन हुन यो परिपत्र गरिएको छ।’
चार बुँदे निर्देशनमा कांग्रेस केन्द्रले क्षेत्रीय कार्यसमितिलाई क्रम संख्यासहितका नयाँ क्रियाशील सदस्यता फाराम पठाइसकेको उल्लेख छ। साथै, सदस्यता वितरणका क्रममा समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न जिल्ला कार्यसमितिलाई स्पष्ट निर्देशन दिइएको छ।
महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणलाई लिएर विभिन्न जिल्लामा देखिएका अन्योल र गुनासोबीच महामन्त्री थापाको निर्देशनले प्रक्रिया व्यवस्थित बनाउने र समयमै सदस्यता संकलन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।