काठमाडौं । पोखरा पुगेका ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा उनले सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्ने बताएका हुन्।
घिसिङले भने–‘सही नेतृत्वहरू र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। नभए कार्यगत एकता गरेर जानुपर्छ। नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जान आह्वान गर्छु । नेपाली जनताले वैकल्पिक शक्ति एक होस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना छ। त्यो बुझेर अघि बढ्नुपर्नेछ।’
घिसिङले वैकल्पिक शक्ति एक बनाउने विषयमा शनिबार साँझसम्म पनि छलफल गरेका थिए। तर आइतबार झिसमिसेमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महागरका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ। तर लगातार संवादमा रहेका कुलमान घिसिङ भने उक्त सहमतिमा सहभागी भएनन्।
उनले यस्तो सहमतिमा उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएका छन्। उनले भने–‘उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति, सम्मान र स्वाभिमान छ। त्यसलाई यथास्थितिमा राखेर त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अघि बढ्ने हो। यसतर्फ धेरै कुरा भइरहेको छ। आगामी दिनमा धेरै रिजल्ट आउनेछ।’