काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको ठहर गर्दै नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको स्पष्ट पारेको छ ।
शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले बहुमतबाट निर्णय गर्दै १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।
बैठकको निर्णयको पहिलो बुँदामै नियमित महाधिवेशनको प्रक्रिया विधानबमोजिम अघि बढिसकेको उल्लेख गरिएको छ।
निर्णयमा भनिएको छ, ‘नियमित १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधानबमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ।’