काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई बयानका लागि बोलाउने तयारी थालेको छ ।
१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्कामा सेटिङ मिलाउन दुई वर्ष अघि अवैध चेकको कारोबार गरेको, पदिय दुरुपयोग गरी बिद्युत खरिद सम्झौता (पीपीए) र कर्मचारी सरुवा बढुवामा रकम असुली तथा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध परेको उजुरीमाथि गम्भिर रुपमा छानविन भइरहेको छ ।
यीलगायत विभिन्न ठेक्कामा अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई अख्तियारले बयानमा बोलाउने तयारी गरेको हो ।
‘अवैध चेक कारोबार र अनियमितता’मा संलग्न रहेकाले कारबाही गरिपाऊँ भनी खड्का र जगदुल्ला आयोजनका सीइओ सञ्जय सापकोटाविरुद्ध जेन–जीको नाममा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानविन गरिरहेको आयोगले सीइओ सापकोटासँग बयान लिइसकेको छ भने उनकै बयानको आधारमा खड्का तानिएको स्रोत बताउँछ ।
त्यतिमात्रै होइन, खड्कामाथि अबैध सम्पत्ति थुपारेको आरोपमा सम्पत्ति सुद्धीकरणमा पनि छानविन भइरहेको छ ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा आगजनी हुँदा स्वदेशी तथा विदेशी मुद्रा जलेको, प्रदर्शनकारीहरुले लुटेको तथा पैसा हावामा उडाइएको भिडियो भाइल भएपछि सीआईबीसँगको सहकार्यमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पहिले नै अनुसन्धान थालिसकेको थियो ।
अख्तियारले खड्काको स्रोत नखुलेको सम्पत्ति छानविनका लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।
अख्तियारमा जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा कमिसनवापत लेनदेन भएको चेकको फोटोसहित उजुरी परेको थियो । अख्तियारले सोही विषयमा अनुसन्धान अघि बढाउँदै लैजाँदा कर्मचारी सरुवा बढुवामा कमिसन लिएकोदेखि विभिन्न हाइड्रो पावरका ठेक्काबाट कमिसनबावत अकुत सम्पत्ति थुपारेको आरोप लगाइएको छ ।
खड्काका कर्तुतका विषयमा सतर्कता केन्द्रमा पनि उजुरी परेपछि सतर्कताले छुट्टै प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको र सो प्रतिवेदन पनि अख्तियार पठाइएकाले त्यसमाथि पनि अख्तियारले सुक्ष्म रुपमा छानविन गरिरहेको छ ।
खड्काकै मिलेमतोमा जगदुल्ला आयोजनामा तीन करोडको चेक ठेक्काको कमिसनमा बाँडफाँट भएको खुलेपछि उनको विरुद्धमा उजुरी परेको थियो । खड्काविरुद्ध पटेल इन्जिनियरिङकै एजेन्टले अख्तियारमा उजुरी दिएका थिए ।
जगदुल्लामा आयोजना प्रमुख सञ्जय सापकोटालाई ठेकेदार कम्पनीका एजेन्टहरूसँग भेटघाट गराई खड्काले मन्त्रालयमै बसेर कमिसनबापतको चेकको लेनदेन गराएको खुलिसकेको छ ।
पटेलका एजेन्टले भने चेक नसाटिने देखेपछि आफू जोगिनका लागि अख्तियार गुहारेका थिए ।
खड्काले हाई हिमालय हाइड्रोका मालिक किरण मल्लसँग बिचौलिया अरुण केसीमार्फत सिक्टा आयोजनाको कमिसन लिएकोसमेत उजुरीमा दाबी गरिएको छ । मन्त्री हुँदा सिँचाइका कर्मचारीको सरुवामा घुस लिएको तथा नेपाल स्काउटको जग्गाको भाडा नतिरेको र अस्वाभाविक रूपमा अर्बको सम्पत्ति जम्मा गरेको प्रकरणमा पनि छानबिन भइरहहेको स्रोत बताउँछ ।
खड्का ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेकोलगायतका काण्डले बद्नाम भएका थिए । उनले अख्तियारलाई समेत चुनौती दिएर भाषण गरेका थिए ।
आफ्नो होटलमा लगेर संसदीय समितिको बैठक बसाली स्वार्थप्रेरित कानून निर्माणमा चलखेल गराएको आरोप पनि खड्कामाथि छ । उनी आफैँ पनि जलस्रोतसम्बद्ध व्यापारी हुन् । स्वार्थ बाझिने गरी खड्कालाई नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएकामा आलोचना भएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारका सबैभन्दा विवादित र भ्रष्टाचारमा लिप्त मन्त्रीका रुपमा परिचित खड्का बिभिन्न हाइड्रोपावरका शेयरहोल्डर मात्रै छैनन्, ठूला होटलमा लगानी गरी अवैध सम्पत्ति आर्जन गरिरहेका छन् ।
पूर्वमन्त्री खड्काले हालका उर्जामन्त्री कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको एमडीबाट हटाइसकेपछि पीपीएदेखि कर्मचारी सरुवामा मोलतोल गरी ठूलो रकम असुली गरेका थिए । त्यसका लागि उनले विचौलिया अरुण केसीलाई नै परिचालन गरेका थिए ।
अख्तियारले केसीमाथि पनि छानविन गरेको खण्डमा खड्का र केसीबीचको अवैध कारोबार समेत बाहिर आउने निश्चित छ ।
सिंचाई बिभागको महानिर्देशकमात्रै खड्काले एक बर्षमा ४ जनालाई बनाएर करोडौं रकम असुलेका थिए ।
नेपाल स्काउटको जग्गा लिजमा लिएर ५ करोड भाडा नतिरेको खड्काल्याण्ड डेभलपमेन्ट प्रालि, संखुवासभा आधुनिक कृषि कम्पनी प्रालि, मकालु बरुण एग्रो कन्सर्न प्रालि, होटल फोरेष्ट इन प्रालि, लैनचोर बैंक्वेटलगायतका संस्थाहरुमा पनि उनको लगानी रहेको छ ।
यी संस्थाहरुमा उनले आफू मन्त्री हुँदा अवैध रुपमा विभिन्न व्यक्ति र कम्पनीहरुमार्फत रकम जम्मा गराउन लगाएको समेत छानविनका क्रममा खुलेको अख्तियार स्रोतले थप उल्लेख गर्यो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि नै खड्काविरुद्ध मुद्दा चल्ने अख्तियार स्रोतको दावी छ ।