काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आज नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो बताएका हुन् ।
उनले भने- 'म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु-मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु(म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन । चुनावमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन । मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’
आफू कुनै पार्टीमा प्रवेश गरेको, जाने वा आउने भन्ने कुरा समेत नभनेको उल्लेख गर्दै सञ्चार माध्यममा आएका केही समाचारहरू वास्तविकताभन्दा फरक ढंगले आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।