काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
उनले पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने स्पष्ट घोषणा गरेका छन् ।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र विवाद चर्किँदै गएको सन्दर्भमा महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले उठाइएका प्रश्नहरूको जवाफ दिँदै लेखेका छन्, 'विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन। यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु।’
यसअघि नै पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत औपचारिक आह्वान भइसकेको छ। उक्त महाधिवेशनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहभागी हुने घोषणा गरिसकेका छन्।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय थापा–शर्मा पक्षले भने जेनजी आन्दोलनपछिको बद्लिँदो राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएका छन्।