काठमाडौँ । संस्थापन पक्षको असहमतिका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ । विशेष महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय गरिएको छ।
उद्घाटन समारोहअघि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले काठमाडौंका विभिन्न छ स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ। महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटनपूर्व शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो। सचिवालयका अनुसार सबै जुलुस बिहान ११ बजे आ–आफ्नो स्थानबाट प्रस्थान गर्नेछन्।
छैटै जुलुस भृकुटीमण्डपमा प्रवेश गरेपछि विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोह शुरू हुनेछ। उद्घाटन कार्यक्रम सकिएसँगै आजै बन्दसत्र पनि प्रारम्भ गरिने आयोजकले जनाएको छ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन्।
सुन्धाराबाट निस्कने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्तासँगै काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का प्रतिनिधिहरू सहभागी हुनेछन्। यो जुलुस सुन्धारा, वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ताको सहभागिता रहनेछ।
पद्मकन्या क्याम्पसबाट निस्कने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्तासँगै काठमाडौंका केही निर्वाचन क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।
शंकरदेव क्याम्पसबाट भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता जुलुसमा सहभागी हुनेछन्।
कमलपोखरीबाट काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता चारखाल अड्डा, डिल्लीबजार र पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन्।
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।