काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच आज निर्णायक वार्ता हुँदैछ । विशेष महाधिवेशनको बन्दसत्र सुरु भइसकेको अवस्थामा पार्टीलाई कसरी एकताबद्ध बनाएर अघि बढाउने भन्ने विषयमा केन्द्रित भएर वार्ता हुन लागेको हो ।
सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्दसत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो । यसलाई कांग्रेसभित्र बढ्दो मतभेद व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ ।
वार्तामा संस्थापन पक्षबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र बालकृष्ण खाँड सहभागी हुनेछन्। विशेष महाधिवेशन पक्षधरबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा बस्ने तय भएको छ। वार्ता केही समयमै सुरु हुने बताइएको छ।
यसैबीच, कांग्रेसले आजै केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ। विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेदेखि सुरु हुँदैछ।