काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सुरु गरिएको उम्मेदवारी मनोनयन प्रक्रिया स्थगित गरिएको छ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार अब उम्मेदवारी मनोनयन बुधबार बिहान ८ देखि ९ बजेसम्म हुनेछ। मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिए पनि विभिन्न कारणले प्रक्रिया स्थगित गरिएको उनले जानकारी दिए।
यसअघि उमेदवारी मनोनयनबाहेकका बाँकी सबै निर्वाचन तालिका बुधबारका लागि सारिएको थियो। मनोनयन प्रक्रिया पटक–पटक सारिएपछि अन्ततः बुधबार बिहानका लागि तोकिएको हो।
यसअघि मनोनयन दर्ताका लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म समय निर्धारण गरिएको थियो। पछि सो समय परिवर्तन गर्दै बेलुका ५ बजेपछिका लागि सारिएको थियो भने त्यसपछि पुनः साँझ साढे ६ बजेसम्मका लागि तोकिएको थियो ।
तर निर्धारित समयमा मनोनयन प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन समितिले स्थगित गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ।