काठमाडौं । संस्थापन पक्षको कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले आज बिहानै पद छाडिसकेको दाबी गरेका छन्।
केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री शर्मासहित अर्का महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।
त्यसपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफूले बिहानै महामन्त्री पद छाडिसकेको बताएका हुन् । ।
उनले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गरे ।
उनले भने- 'केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार काँग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ ।'
साथै आफूले पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीमा मनोनयन दर्ता गर्न लगाएको समेत बताए ।
उनले थप भने- 'एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।'