काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जिउँदो मानिसले प्रशंसा र आलोचना दुवै भोग्नुपर्छ भन्ने यथार्थलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस विभाजनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै भण्डारीले सभ्य असहमति र विचारको प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दरता भएको उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छ। चित्त दुख्छ पनि, खुसी पनि हुन्छ। यही नै जीवनको यथार्थ हो।’
तर राजनीतिक संस्कार र लोकतान्त्रिक मूल्यमा जोड दिँदै भण्डारीले थपे, ‘हाम्रो पाठशालाले हामीलाई गाली गर्न होइन, विचार राख्न, तर्क गर्न, असहमति सभ्य रूपमा व्यक्त गर्न र समाधान खोज्न सिकाएको हो।’
उनले विचारको स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको आधार भएको उल्लेख गर्दै गाली–गलौजले सभ्य र संस्कारित व्यक्ति नबनाउने स्पष्ट पारे। ‘लोकतन्त्रको सुन्दरता यही हो कि फरक मत राख्ने अधिकार मात्र होइन, त्यसको सुरक्षा हुने ग्यारेन्टी पनि हुन्छ,’ भण्डारीले लेखेका छन्।