काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने प्रवृत्तिभन्दा माथि उठेर समाधान खोज्नु नै साँचो राजनीति भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता भण्डारीले यस्तो बताएका हुन् । दीर्घकालीन विश्वास र स्थायित्व समाधानबाट मात्र सम्भव हुने उनको भनाइ छ ।
भण्डारीले आजको राजनीतिक आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व भएको उल्लेख गरे । सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले राजनीतिमा उत्तेजनाभन्दा समझदारी र संवादको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले लेखेका छन्, ‘साथीहरू, समाजमा द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो। समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिन्छ।’
भण्डारीले वर्तमान राजनीतिक परिवेशमा आरोप–प्रत्यारोप र टकरावको भाषा हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको विकल्पका रूपमा संयमित, जिम्मेवार र दीर्घकालीन सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्।