चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा मनोनय दर्ता गरेका छन् ।
सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने आफै उपस्थित हुन नसक्ने भएपछि रास्वपा महानगर सभापति सिता ज्ञवालीमार्फत उम्मेदवारी दर्ता गराएका हुन ।
गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछाने सहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।
उक्त मुद्दामा मनोनयन दर्ता कै दिन अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले रविसँग १ करोड धरौटी माग गरेको थियो ।
त्यसपछि धरौटी बुझाउने काम सकेर चितवन फर्किने तयारीमा भएपनि ढिला हुने देखिएपछि वारेसबाटै मनोनय दर्ता गराएका हुन् ।
लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् । गत पटक चितवन क्षेत्र नं. २ बाट भारी मतका साथ विजयी भएका रवि नागरिकता विवादपछि भएको उपनिर्वाचनमा पनि विजयी भएका थिए ।