झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग चुनावी प्रतिस्पर्धा गर्न झापा क्षेत्र नं. ५ मा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहमाथि तीखो कटाक्ष गरेका छन्।
बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनको पुर्ख्यौली घर महोत्तरी र त्यहाँको विकास निर्माणलाई लिएर व्यंग्य गरे।
उनले बालेनको घरअगाडिको विकास समेत आफैले गरिदिएको दाबी गरे।
आगामी निर्वाचनमा आफूविरुद्ध उम्मेदवारी दिएका बालेनप्रति लक्षित गर्दै ओलीले भने,‘उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने ? महोत्तरी–३ मटियारीबाट जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु, बाटो बनाइदिएको छु। उहाँको घरअगाडिको बाटो पनि मैले बनाइदिएको हुँ।’
ओलीले आफूले तराई–मधेसको विकासमा कसैले नसोचेको काम गरेको दाबी गर्दै आफ्नै विकासको जगमा हिँडेर आफूलाई नै गाली गरिएको गुनासो गरे।
‘मैले विकासको आधार तयार गरिदिएको छु, त्यही बाटोमा हिँडेर आज मलाई नै गाली गरिन्छ,’ ओलीले भने।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिई रास्वपा प्रवेश गरेर झापा–५ मा उम्मेदवारी दिएका बालेनको हार निश्चित रहेको दाबीसमेत ओलीले गरे।