डडेल्धुरा । डडेल्धुरामा एक महिला मृत भेटिएको घटना प्रकरणमा प्रहरी कर्मचारी पक्राउ परेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–४ मा भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत अवस्थामा फेला परेको घटनामा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी चालक यज्ञ साउद पक्राउ परेका हुन् ।
डडेल्धुरा प्रहरीका अनुसार मृत्युअघि गिरीले सामाजिक सञ्जालमा साउदसँगको सम्बन्ध खुल्ने गरी केही सामग्रीहरू पोस्ट गरेकी थिइन् ।
सोही आधारमा साउदलाई नियन्त्रणमा लिएर घटनाबारे गहिरो अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मृतक महिला र पक्राउ परेका साउदबीच अनैतिक सम्बन्ध रहेको खुलेको बताइएको छ । मृतकका श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको पनि खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।