काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पब्लिक डिबेटसम्बन्धी प्रस्तावमा तुरुन्तै कडा प्रतिक्रिया जनाए पनि विवादित व्यापारी कमलकिशोर मालपानीको महँगो गाडी चढेको विषयमा भने अहिलेसम्म मौन बसेका छन् ।
अध्यक्ष ओलीले आफू सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि तयार रहेको भन्दै फेसबुकमा लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै बालेनले डिबेट अस्वीकार गरे ।
उनले कमेन्टमा लेखेका छन्, '७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।' बालेनको यो अभिव्यक्तिलाई उनले पब्लिक डिबेट अस्वीकार गरेको संकेतका रूपमा हेरिएको छ ।
तर, ओलीलाई तुरुन्तै जवाफ फर्काएर सामाजिक सञ्जालमा सक्रिय देखिएका बालेन विवादित व्यापारी कमलकिशोर मालपानीको करिब ८ करोड रुपैयाँ मूल्य पर्ने गाडीमा सवार भएको विषयमा भने हालसम्म मौन छन् ।
करोडौँ रुपैयाँ कर छलीमा मुछिएका मालपानीको गाडी किन प्रयोग गरियो भन्ने प्रश्न सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उठिरहेको छ । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको गाडीको विषयलाई लिएर बालेनको पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ ।
[insert page='389161' display='yopanipadhnuhos.php']
मालपानीको नागरिकताको विषय पनि छानबिनमा छ । उनै व्यक्तिले बालेनलाई करिब ८ करोड रुपैयाँ मूल्य पर्ने गाडी चुनावी प्रचारका लागि दिएका छन् ।
झापा–५ मा मनोनयन दर्ता गरी ६ दिन पूर्वी नेपाल भ्रमण गरेका बालेन शनिबार राति काठमाडौं फर्किएका थिए । विमानस्थबाट रातो रङको टेस्ला गाडी चढेर बालेन बाहिरिएका थिए । उक्त गाडी एमालेकै युवा नेता एवं अनेरास्ववियुका पूर्व अध्यक्ष डा. सुजन कडरियाको रहेको चर्चा छ ।
बालेनलाई लिन कडरियाका माइला भाइ सुशील कडरिया बागमती प्रदेश ४४०६ नम्बरको रातो टेस्ला लिएर विमानस्थल पुगेको समाचार सार्वजनिक भएका छन् ।