काठमाडौं। साताको दोस्रो कारोबार दिन आज नेप्से एकल अंकले घटेको छ।
अघिल्लो कारोबार दिन आइतबार ५७.५५ अंकले बढेको सेयर बजार निरन्तर उकालो लाग्ने लक्षण देखिएकामा लगानीकर्ताहरू पनि उत्साही बनेका थिए। आजको दिनमा झिनो ३.०७ अंकले नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
आइतबारको तुलनामा नेप्से ०.११ प्रतिशतले घट्दै २‚७६९.०९ विन्दुमा अडिएको छ। दिनभर निकै उतारचढाब रहेको नेप्सेमा सोमबार ३३२ कम्पनीको एक लाख ४७ हजार ६७६ पटकको कारोबारमा तीन करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच भए। जसमा सोमबार १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँको कारोबार भयो। आइतबार भने सेयरबजारमा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चारवटा समूहका सूचक बढे भने बाँकी नौवटा समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूह ०-१६‚ विकास बैंक ०.०६‚ फाइनान्स ०.४५ प्रतिशतले घटे। यसैगरी होटेल तथा पर्यटन १.६७‚ जलविद्युत् समूह ०.३० प्रतिशतले बढ्दा लगानी ०.५५‚ जीवन बिमा ०.५३ प्रतिशतले घटे।
नेप्सेमा सोमबार ८८ कम्पनीको मूल्य बढ्दा १६५ वटा कम्पनीको घट्यो। सातवटा कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
हरियाली बनेको सेयर बजारमा सोमबार पाँचवटा कम्पनीका मूल्यमा सकारात्मक सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढ्यो। सकारात्मक सर्किट लाग्ने कम्पनीमा एसवाई प्यानल‚ हिमस्टार ऊर्जा कम्पनी‚ सान्भी इनर्जी लिमिटेड‚ सप्तकोसी विकास बैंक र माउन्टेन हाइड्रो लिमिटेड छन्।
सोमबार सबैभन्दा बढी नेसनल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ३।१२ प्रतिशतले ओरालो लाग्यो। जसको अन्तिम कारोबार मूल्य २१४ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको सेयर कारोबार भयो। आज यसको ६५ करोड ९३ लाख ३० हजार ९६० रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५०५ रुपैयाँ कायम रह्यो।