एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएका छन् ।
दक्षिण कोरियाको राष्ट्रिय सभाले अमेरिकासँग भएको व्यापार सम्झौतालाई स्वीकृति नदिएको भन्दै उनले कडा प्रतिक्रिया जनाएका हुन् ।
मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मा लेख्दै ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने अटोमोबाइल, काठ, औषधि ९फार्मा० तथा अन्य सबै सामानमा लगाइने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
ट्रम्पका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङ र उनले ३० जुलाई २०२५ मा दुवै देशका लागि महत्वपूर्ण व्यापार सम्झौतामा सहमति जनाएका थिए। उनले २९ अक्टोबर २०२५ मा कोरियामा रहँदा उक्त सम्झौता पुनः दोहोर्याइएको पनि बताएका छन्।
‘कोरियाली संसदले यो सम्झौता किन स्वीकृत गरेन ?’ ट्रम्पले प्रश्न गर्दै लेखेका छन्, ‘उनीहरूले हाम्रो ऐतिहासिक व्यापार सम्झौता कार्यान्वयन गरेका छैनन्, जुन उनीहरूको जिम्मेवारी हो।’
ट्रम्पले उक्त सम्झौताअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने दाबी गर्दै त्यसको नियन्त्रण अमेरिकाकै हातमा रहने बताइएको छ। सम्झौता कार्यान्वयन नभएकै कारण ट्यारिफ बढाउने निर्णय गर्न बाध्य भएको उनको भनाइ छ।