चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका–४ की ६३ वर्षीया सुकमाया देवी तामाङको हत्या प्रकरणमा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
गत पुस २६ गते तामाङ आफ्नै घरभित्र हातखुट्टा र मुख कपडाले बाँधिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानमै यो हत्या योजनाबद्ध ढंगले लुटपाटका उद्देश्यले गरिएको खुलेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउ पर्नेहरूमा बारा जिल्लाको जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई हाल रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे तथा विजय भनिने शुक्रबहादुर भोलन, ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा रहेका छन्।
यसैगरी स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल रत्ननगर नगरपालिका–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौंको थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याङ्तान पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई रत्ननगर नगरपालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), इच्छाकामना गाउँपालिकाको फिस्लिङ तथा थानकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले पत्रकार सम्मेलनमा केही समयअघि मृतक तामाङको घरमा भाडामा बस्दै आएका शुक्रबहादुर भोलनको योजनामा हत्या गरिएको जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल, पर्स तथा सात थान मोबाइल फोन बरामद गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहितको काँडावाला माडवरी, एक तोला २५ लालाको सुनको बाला, ५० लालको सुनको औँठी, एक तोलाको सुनको जन्तर, मोती माला, दुई थान मोबाइल र नगद एक लाख रुपैयाँसहित करिब १५ लाख ३६ हजार ७ सय रुपैयाँ बराबरको सम्पत्ति लुटपाट गरिएको थियो।
पक्राउ परेका सबैमाथि कर्तव्य ज्यान तथा चोरी–डकैतीसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष भट्टको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले करिब दुई साता लामो अनुसन्धानपछि घटनामा संलग्न सबै दोषी पहिचान गरी पक्राउ गर्न सफल भएको हो।