एजेन्सी । अमेरिकी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य फाइलहरू सार्वजनिक भएपछि अमेरिकी न्याय विभाग गम्भीर विवादमा फसेको छ ।
एपस्टिनको यौन दुर्व्यवहारबाट पीडित महिलाले न्याय विभागको पछिल्लो कदमलाई कडा आलोचना गरेका हुन् ।
पीडितहरूको भनाइमा, सबै कानुनी रूपमा सार्वजनिक गर्नुपर्ने फाइलहरू नखोली अधुरो रूपमा कागजात सार्वजनिक गर्नु न्यायप्रति नै अन्याय हो ।
उनीहरूले सबै दोषी, सहयोगी र संलग्न व्यक्तिहरूको नाम सार्वजनिक नगरेसम्म यो प्रक्रिया पूरा भएको मान्न नसकिने बताएका छन् ।
न्याय विभागले हालै एपस्टिन काण्डसँग सम्बन्धित झण्डै ३० लाख पृष्ठका कागजात, एक लाख ८० हजार तस्बिर र झण्डै २ हजार भिडियो सार्वजनिक गरेको छ । तर तीमध्ये धेरैजसो कागजातमा महत्वपूर्ण जानकारी कालो मसीले छोपिएको आरोप लागेको छ, जसले पारदर्शितामाथि प्रश्न उठाएको हो ।
सार्वजनिक गरिएका नयाँ फाइलहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि धेरै ठाउँमा लेखिएको छ । तर न्याय विभागले ती आरोपहरूलाई प्रमाणविहीन र सनसनीपूर्ण भन्दै अस्वीकार गरेको छ । ह्वाइट हाउसले पनि राष्ट्रपति ट्रम्पमाथि लगाइएका सबै आरोपहरू पूर्ण रूपमा असत्य भएको दाबी गरेको छ । राष्ट्रपति ट्रम्पले एपस्टिनसँग सम्बन्धित कुनै पनि अपराधमा आफू संलग्न नरहेको कुरा पटक–पटक दोहोर्याउँदै आउनुभएको छ ।
यी फाइलहरूमा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, बेलायतका प्रिन्स एन्ड्र्यु, लेबर पार्टीका नेता पिटर म्यान्डेलसनलगायत विश्वका प्रभावशाली व्यक्तिहरूको नाम पनि उल्लेख छ । यसैबीच, डेमोक्र्याट सांसदहरूले न्याय विभागले झण्डै ६० लाख फाइलमध्ये आधा मात्र सार्वजनिक गरेको आरोप लगाएका छन् ।