काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक दलहरूका चुनाव जित्ने दाबी र सिट आँकलनप्रति कटाक्ष गर्दै सबै पार्टीले आफू नै विजेता र एकल सरकार बनाइसकेको जस्तो प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले चुनावी दाबी र विश्लेषण सुन्दा–पढ्दा कोही पनि दोस्रो नहुने अवस्था देखिएको उल्लेख गरे। सबैले जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको जस्तो प्रचार भइरहेकोप्रति उनले व्यङ्ग्य गरे ।
‘चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र हैन, एकल सरकार नै बनाइसकेजस्तो देखियो।’
तर वास्तविक परिणाम भने मतदाताको निर्णयले मात्रै निर्धारण गर्ने स्पष्ट पार्दै उनले प्रचार, होहल्ला, आरोप–प्रत्यारोप चुनावी प्रक्रियाको सामान्य पक्ष भएको बताए।
‘तर खास कुरा मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट हुन्छ,’ उनले भनेका छन्, ‘होहल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप–अमेरिकामा पनि देखिन्छ, नेपालमा त यो मामुली कुरा भइगो।’