काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय–समयमा प्राप्त भएका ऐतिहासिक नेतृत्वदायी अवसरहरू पटक–पटक गुमाएको टिप्पणी गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले प्रचण्डका लागि अब विकल्प सीमित बन्दै गएको दाबी गरेका छन् । उनका अनुसार प्रचण्डको राजनीतिक यात्राले अवसर गुमाइसकेपछि पछुतो र भावुक अभिव्यक्तिको चरणमा प्रवेश गरेको संकेत गर्छ ।
प्रचण्डले आइतबार सार्वजनिक गरेको भिडियो सन्देशमा आफू पुराना नेताहरूको भिडमा रहे पनि सत्ताको लोभमा नरहेको बताएका थिए। सोही अभिव्यक्तिलाई लक्षित गर्दै बास्कोटाले कटाक्ष गरेका हुन्।
'समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरू पटक–पटक गुमाएपछि पश्चातापको समय मात्र बाँकी रहन्छ,' बास्कोटाले लेखेका छन्, 'कमरेड प्रचण्डको पछिल्लो भावुक याचना त्यही हो। अब लास्ट विकल्प चुनाव रोक्नु वा अन्तिमपटक आफ्नै दुई–चार जनाका लागि भए पनि आकस्मिक वाम अंकमालको प्रयत्न।'