रुपन्देही । रुपन्देहीमा स्कुल बस र धान बोकेको ट्याक्टर आपसमा ठोक्किँदा २२ जना विद्यार्थी घाइते भएका छन् । दुर्घटना जिल्लाको ओमसतिया गाउँपालिका क्षेत्रमा आज बिहान करिब ६ः३० बजे भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको स्कुल बस र लु३त ३५३० नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते २२ जनामध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने बाँकी सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये ११ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र बाँकीको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। घाइते सबै मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी रहेका छन्।
दुर्घटनापछि दुवै सवारीका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।