एजेन्सी । भारतको पन्जाब राज्यस्थित जालन्धरमा आम आदमी पार्टी (आप) का नेता लकी ओबेरोयको गोली हानी हत्या गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जालन्धरको मोडेल टाउनमा रहेको गुरुद्वारा बाहिर अज्ञात व्यक्तिहरूले उनीमाथि गोली प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार लकी ओबेरोय आफ्नो कारमा गुरुद्वारा पुगेका बेला स्कुटरमा आएका दुई आक्रमणकारीले उनीमाथि अचानक गोली चलाएका थिए ।
गोली लागेर गम्भीर घाइते भएका ओबेरोयलाई तत्काल अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको र वरपर रहेका सीसीटीभी क्यामेराको फुटेज जाँच भइरहेको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न आक्रमणकारीको खोजी तीव्र बनाएको छ भने हत्या पछाडिको कारण खुल्न बाँकी रहेको जनाएको छ ।