काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको प्रबन्ध थप सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
साथै उनले निर्वाचन सुरक्षाका लागि आवश्यक स्रोत, साधन र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग भएको भेटघाटमा राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सुरक्षा संयन्त्रले उच्च सतर्कता र जिम्मेवारीका साथ काम गर्नुपर्ने उल्लेख गर्दै यस्तो निर्देशन दिएका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत बुझ्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचनले मुलुकको वर्तमान अवस्थालाई निकास दिन सक्ने बताएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन।’
भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।