जनकपुरधाम । सर्लाहीको मलंगवा नगरपालिकामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ८ बजेतिर मलंगवा नगरपालिका–१० क्षेत्रमा अज्ञात समूहले यादवमाथि गोली प्रहार गरेको हो।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि मलंगवा अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार यादवको मुटुको नजिक गोली लागेको र उपचारकै क्रममा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र प्रारम्भिक अनुसन्धानअनुसार अज्ञात समूहबाट गोली प्रहार भएको जानकारी प्राप्त भएको बताए।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने संलग्न समूहको खोजीका लागि अनुसन्धान तथा खोजतलास कार्य तीव्र पारिएकोजनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।