काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनको जिम्मा अब काठमाडौं महानगरले लिने भएको छ ।
शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो ।
सहमतिअनुसार धरहराभित्र रहेको पार्किङ सञ्चालन र व्यवस्थापनको काम अब महानगर प्रहरी बलले गर्नेछ ।
बैठकले धरहरा क्षेत्रको तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन र अन्य पहलमा अध्ययन गरी सुझाव पेस गर्ने लागि शहरी विकास मन्त्रालय र काठमाडौं महानगरका पदाधिकारीबाट संयुक्त समिति गठन गर्ने निर्णय गरेको काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
साथै धरहराको बाहिरी संरचना सम्बन्धी कामहरू पनि काठमाडौं महानगरको जिम्मामा रहनेछ । महानगरले यसको सम्पूर्ण आर्थिक दायित्व समेत लिनेछ ।
बैठकमा छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिती थियो ।