काठमाडौं। रौतहट घटनाबारे छलफल गर्न गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।
रौतहट घटनाको बारेमा छलफल गर्न बोलाइएको आकस्मिक बैठक गृह मन्त्रालयमा केहिअघि देखि सुरु भएको हो ।
बिहीबार हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा बजाउन नहुने भन्दै अवरोध गरेपछि झगडा सुरु भएको थियो ।
बिहीबार राति देखिको सामान्य विवाद बढ्दै जाँदा शुक्रबार बिहान दुवै समुदायबीच ढुंगामुढा सुरु भएपछि स्थिति झन् बिग्रियो । यस क्रममा केही व्यक्तिहरूबीच झडप हुँदा डिजे समूहका सदस्यहरूलाई कुटपिट र ढुंगामुढा समेत भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । यस क्रममा ६ जना सर्वसाधारण घाइते भएका छन् भने प्रहरीका दुई जना पनि घाइते भएका थिए ।
विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षमा बसेको बैठक नेपाल सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित उच्च अधिकारी छन्। साथै चुनावी सुरक्षाको तयारीबारे छलफल हुने बताइएको छ ।