काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका- ३१ का सिंहलाई बुधबार । धादिङको ज्वालामुखी गाउँपालिका- २ का तिवारी मंगलबार पक्राउ गरेको हो ।
हाल सम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
अभियुक्तहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।