काठमाडौं । राजावादी अभियन्ता तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारीसहित प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित निवासमा पुगेको छ ।
प्रहरी स्रोतका अनुसार प्रसाईँलाई नियन्त्रणमा लिन विशेष टोली बिहानै घर पुगेको हो ।
पछिल्लो समय प्रसाईँले सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत निर्वाचन विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए। सो अभिव्यक्तिलाई लिएर सुरक्षा निकायले निगरानी बढाएको बताइएको छ।
सरकार र प्रसाईँबीच विभिन्न चरणमा वार्ता भए पनि उनले आफ्ना मागहरू सम्बोधन नभएको दाबी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका छन्।
प्रसाईँ यसअघि पनि पटकपटक पक्राउ र रिहा हुँदै आएका छन्। केही दिनअघि मात्रै उनी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।