काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ ।
आज दिउँसो बलरा–४ स्थित बाटोमा सिन्हामाथि आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन् ।
डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा गाडीमाथि आक्रमण भएको हो ।
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको पीडित पक्षको भनाइ छ ।
आक्रमणबाट घाइते भएका डा. सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
कांग्रेस सभापति गगन कुमार थापालाई पराजित गर्दै अमरेशकुमार सिंह सर्लाही–४ मा विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा कांग्रेस सभापति थापाले जम्मा २२ हजार ८३१ मत प्राप्त गरे ।
घटनाप्रति नेपाली कांग्रेस सर्लाही–४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।