काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२.०८ अंकले घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा १.११ प्रतिशतले घटेको नेप्से २८४३.३५ अंकमा रोकिएको हो।
सेयर बजारमा मंगलबार ३२९ कम्पनीको दुई लाख पाँच हजार ६११ पटकको कारोबारमा पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच भए। जसअनुसार २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँको कारोबार भएको छ।
सेयर बजारमा आज १७८ कम्पनीको सेयर मूल्य घटेको छ। ७८ कम्पनीको सेयर मूल्य बढ्दा पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो। १३ समूहको कारोबार भएकामा तीन समूहका उपसूचक बढ्दा बाँकी १० समूहका उपसूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक १.२७‚ विकास बैंक १.१६‚ फाइनान्स २.०६‚ होटेल तथा पर्यटन‚ १.८५‚ जलविद्युत् १.४५ तथा लगानी १.४८ प्रतिशतले घट्यो।
यसैगरी जीवन बिमा समूह ०.५१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह १.८२ र लघुवित्त समूह ०.१७ प्रतिशतले ओरालो लाग्यो। म्युचुअल फन्ड १.४३ र निर्जीवन बिमा ०.४७ प्रतिशतले बढ्यो। अन्य समूह १.४० र व्यापार समूहको सूचक २.१२ प्रतिशतले ओरालो लाग्यो।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँबराबरको कारोबार भएको छ। ङादीका २४ लाख नौ हजार ९८९ कित्ता सेयर किनबेच भए।