काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले अर्का केन्द्रीय सदस्य शेरबहादुर तामाङको कडा आलोचना गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत बास्कोटाले तामाङ आफूविरुद्ध सार्वजनिक रूपमा जाई लागेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका हुन् । आफूले राखेको मतका कारण तामाङ सार्वजनिक रूपमा आफूविरुद्ध लागेका भन्दै उनले असन्तुष्टि पोखे ।
पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले लेखेका छन्, 'भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लागेछन्। म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। ०३८ यताका इतिहास हेरौँ न।'
यद्यपि तामाङले आफूविरुद्ध ठ्याक्कै के टिप्पणी गरेका हुन् भन्ने विषय बास्कोटाले खुलाएका छैनन्।
तर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तामाङले हालैको निर्वाचन परिणामबारे समग्र समीक्षा आवश्यक रहेको बताएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले पार्टी अध्यक्ष प्केपी शर्मा ओलीलाई दोष दिएर उम्किन नमिल्ने टिप्पणी गरेका थिए।
यो टिप्पणी बास्कोटालाई लक्षित भएको चर्चा एमालेभित्रै सुरु भएको छ। यसपटक अध्यक्ष ओलीको आलोचना गरेकै कारण टिकट नपाएको बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे–२ मा एमाले पराजित भएको थियो।